काठमाडौ, चैत्र १६ - काठमाडौं जिल्ला अदालत ले तीन वर्षअघिको सञ्जय सुरेखा अपहरण प्रकरणका मुख्य योजनाकार भनिएका हुन्डी कारोबारी हरि अग्रवाललाई पुर्पक्षका लागि थुना मा पठाएको छ ।
प्रहरी अनुसन्धान प्रतिवेदनअनुसार अग्रवालले सुरेखालाई राजु सिं नामक भारतीय अपराधीलाई प्रयोग गरी अपहरण गर्न लगाएका थिए । दुई लाख अमेरिकी डलर फिरौती लिएर सोह्र दिनपछि सुरेखालाई मुक्त गरिएको थियो ।
सुरेखा रिहाइपछि प्रारम्भिक अनुसन्धानकै क्रममा अग्रवाल पक्राउ परे पनि उनलाई तत्कालीन डीआईजी कल्याण तिमल्सिनाले हस्तक्षेप गरी छोड्न लगाएका थिए । यही विषयसमेत उठाएर तत्कालीन सरकारले तिमल्सिनालाई बर्खास्त गर्न खोजे पनि राजनीतिक प्रभावका कारण रोकिएको थियो । तिमल्सिना सात महिनाअघि एआईजीका रूपमा प्रहरी सेवाबाट निवृत्त भएका हुन् ।
भारतमा सिं अपहरण मुद्दामै पक्राउ परेपछि सुरक्षित महसुस गरी काठमाडौं फर्केको अवस्थामा अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्युरोले गत महिना पक्राउ गरेको हो ।