BREAKING NEWS

आम्दानीको मुख्य स्रोत आलु

बाग्लुङ, चैत २० - जिल्लाको उच्च क्षेत्रमा पर्ने ढोरपाटनमा आलु खेती फस्टाउँदै गएको छ। त्यहाँ स्थानीयले आलुलाई आफ्नो प्रमुख पेसा बनाएका छन्। ढोरपाटनको आलुले राम्रो बजार पाएपछि किसान आलुतर्फ आकर्षित भएका हुन्। रासायनिक मल र विषादी प्रयोग नगरेको आलुको माग बढ्दै गएपछि ढोरपाटनका स्थानीयको आम्दानीको मुख्य स्रोत आलु बनेको छ।

ढोरपाटनका चिरञ्जीवी अदैले आलुबाटै आफ्नो घरव्यवहार चलाउने गरेको बताए। उनले आलुबाट वार्षिक करिब एक लाख रुपैयाँ कमाउँछन्। 'यो वर्ष ६० मुरी आलु बेचें,' उनले भने। उनीमात्र होइन ढोरपाटनका दिलीप थापाले पनि आफ्नो सबै जग्गामा आलु लगाउने गरेका छन्। 'अन्य खेती राम्रो नहुने भएकाले आलु खेती गर्ने गरेका छौं,' उनले भने।
बोवाङ र अधिकारी चौरमा पर्ने ढोरपाटनका करिब एक हजार घर परिवारको प्रमुख पेसा नै आलु खेती भएको बोबाङका गाविस सचिव लोकबहादुर कुँवरले बताए। 'यहाँ किसानको मुख्य आम्दानीको स्रोत नै आलु खेती हो,' उनले भने। त्यहाँ एकै किसानले २० देखि ८० मुरीसम्म आलु फलाउने गरेका छन्।
ढोरपाटनमा मात्र २ सय १४ हेक्टर क्षेत्रफलमा आलु खेती गर्दै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। त्यहाँका किसानले मरिब २ हजार ५ सय ६८ टन आलु फलाउँदै आएका छन्। आलु खच्चड र घोडामार्फत ढुवानी गर्छन्।
ढोरपाटनसँगै जिल्लाका अन्य क्षेत्रमा पनि आलु खेती फस्टाएपछि यो वर्ष आलु उत्पादनमा वृद्धि भएको छ। ढोरपाटन लगायत बोबाङ, निसी, ताराखोला, भकुण्डे, दमेक, जैदी, छिस्ती, बाग्लुङ नगरपालिका, नारायणस्थान, कुश्मिशेरा, बिनामारे लगायत गाविसका किसानले आलु खेती गर्दै आएका छन्।
यो बर्ष १८ हजार ४ सय ७४ टन आलु उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ। 'गत वर्षको तुलनामा सात प्रतिशतले उत्पादन बढेको छ,' वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले भने, 'डडुवा रोगको प्रकोप नलागेको आलु धेरै फल्यो।'
गाउँगाउँमा यातयातका साधन पुग्नाले पनि किसानले सजिलै आलु बेच्न पाएका छन्। अन्यत्रको तुलनामा जिल्लाको ढोरपाटन, बोबाङ, निसी, ताराखोला, भकुण्डे, दमेकको आलु अत्यन्त लोकप्रिय मानिन्छ। अर्गानिक सर्टिफाई नभए पनि विषादी र रासायनिक मलको प्रयोग नगर्ने भएकाले ढोरपाटन र ताराखोलाको आलु विदेशसमेत निर्यात हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ। यहाँको आलु बाग्लुङका अतिरिक्त पोखरा, काठमाडांै र बुटवल लगायत बजारमा निर्यात हु"दै आएको छ।
आलु उत्पादनलाई अझै वृद्धि गर्न जिल्ल्ाा कृषि विकास कार्यालयले ढोरपाटन, बोबाङ, निसी, तारा खोला, भकुण्डे, दमेक गाविसलाई आलुको पकेट क्षेत्र घोषणा गरेको छ। 'केही क्षेत्रलाई पकेटको रुपमा विकास गरेका छौं,' रिजालले भने, 'किसानलाई बिउविजन र औषधी उपचारमा सघाउने गरेका छौं।' बाग्लुङमा रातो, सेतो, झिन्ने नामका स्थानीय प्रजाति र एमएस ४२, कार्डिनल, जनकदेव लगायत आलुका जात लगाउँदै आएका छन्।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes