BREAKING NEWS

पूर्वी नाकाबाट आयात-निर्यात १५ दिनदेखि सुस्त

विराटनगर, चैत २३- सामान चेकजाँचमा ‘घुस' लिएको आरोपमा भारतीय अनुसन्धान ब्युरो (सिबिआई)ले सीमावर्ती जोगवनी भन्सारका कर्मचारी र एजेन्टलाई कारबाही गरेपछि पूर्वी नाकाबाट हुने नेपालको भएको छ।


सिबिआईले भारतीय भन्सारका तीन कर्मचारी र एक एजेन्टलाई घुस प्रकरणमा पक्राउ गरी कारबाही चलाएपछि कर्मचारी र भन्सार एजेन्ट अभाव देखाउँदै भन्सारले सामान चेकजाँचमा ढिलाइ गर्दा आयात निर्यात सुस्त भएको हो।
‘भारतीय भन्सारको गतिरोधले आयात निर्यात सुस्त भएको छ,' विराटनगर भन्सार प्रमुख राजेन्द्र दाहालले नागरिकसँग भने, ‘सामान निकासी-पैठारीमा तीब्रता ल्याउन प्रयास जारी छ।'
चारजना भन्सार एजेन्ट कार्यरत जोगवनीमा कारबाहीमा परेका कर्मचारीको ठाउँमा नयाँ आएका छैनन्। ‘भन्सार एजेन्ट पर्याप्त नहुँदा वस्तुको निकासी-पैठारी रोकिएको हो,' दाहालले भने।
जोगवनी भन्सारमा कार्यरत चारजना एजेन्टमध्ये एकजनाको हालै निधन भएको छ। सिबिआईले छापा मारेपछि २ जना फरार छन्। एकजनामात्र काममा रहेकाले निकासी-पैठारीका सामान क्लियरेन्समा समस्या उत्पन्न भएको हो।
‘भारतीय भन्सारमा थोरै एजेन्ट हुँदा सामानको क्लियरेन्समा समस्या देखिएको छ,' दाहालले भने। उनले भारतीय भन्सारमा देखिएको गतिरोध हटाउन अर्थमन्त्री र भन्सार विभागलाई जानकारी गराइसकेको बताए।
भन्सारका अनुसार तेस्रो मुलुकबाट आयात हुने वस्तु थोरै संख्यामा छुटिरहेका छन्। तर भारतबाट आयात हुने उद्योगको कच्चा पदार्थ पैठारी ठप्प छ। यसले नेपाल आउने सामान बोकेका सयौंको संख्यामा ट्रक र कन्टेनर बाटोमै रोकिएका छन्। विराटनगरका उद्योगी-व्यवसायीले रोकिएको ट्रक र कन्टेनर नेपाल ल्याउन जोगवनी भन्सारका अधिकारीसँग बिहीबार कुराकानी गरेका छन् । ‘भारतीय भन्सारका अधिकारीसँग कुराकानी भएको छ, एक-दुई दिनमै वस्तु निकासी-पैठारी सामान्य हुने आश्वासन पाएका छौं,' मोरङ व्यापार संघका अध्यक्ष अभिनाश बोहराले भने,‘भन्सारमा सामान रोकिँदा उद्योगी-व्यवसायीलाई ठूलो घाटा भएको छ।'
भारतीय पक्षले भन्सार एजेन्ट थप्ने प्रयास भइरहेको जनाएको छ। ‘परराष्ट्र मन्त्रालयमार्फत नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीसँग कुराकानी गरिरहेको छ,' भन्सार प्रमुख दाहालले भने, ‘थप एजेन्ट ल्याउने प्रयास जारी छ।'
विराटनगर भन्सारले दैनिक चार करोड रुपैयाँ राजस्व असुली गर्दै आएको छ। चैतको हालसम्म एकहत्तर करोड राजस्व असुली गरेको छ। फागुनमा १ अर्ब १८ करोड असुली भएको थियो।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes