BREAKING NEWS

भिक्षु आत्मदाह असामाजिक तत्वको उक्साहटमा

(तिब्बत)- पिपुल्स कंग्रेसका सदस्यहरूले पछिल्लो समय विभिन्न स्थानमा भएका भिक्षु आत्मदाहलाई 'असामाजिक तŒव'को उक्साहटमा भएका घटना बताएका छन्। नेपाल र भारतबाट आएका पत्रकारहरूसँग आफ्नै कार्यकक्षमा छलफल क्रममा उनीहरूले यस्ता घटना दुःखद् भएको जनाए।


पिपुल्स कंग्रेसअर्न्तगत तिब्बत युवा लिगका महासचिव चेङ सिक्युले यस्ता घटनाको पछाडि तीन कारण रहेको उल्लेख गरे। 'तिब्बती समाज मन नपराउनेहरूको उक्साहटमा परेका, एक्लो जीवन जिउने व्यक्ति, अपांग, अशक्त र सुविधा नपाएका मान्छेले यस्तो गरिरहेका छन्,' उनले भने, 'यस्ता घटना तिब्बतमा भएका छैनन्, बरु चीनका अन्य क्षेत्रमा भएको सुनिएको छ।'

पछिल्लो समयमा दक्षिण एसिया केही मुलुकमा भिक्षुहरूले आत्मदाह प्रयास गर्दै आएका छन्। कंग्रेस सदस्यहरूले 'मानवीय जीवनलाई सधैं सम्मान' गर्ने उल्लेख गर्दै तिब्बतमा भएका गुम्बाको जीर्णोद्धार र भिक्षुका लागि उच्च शिक्षाको व्यवस्था गरिरहेको बताए।

सिक्युका अनुसार तिब्बतमा १७ सय गुम्बा र ४६ हजार भिक्षु छन्। 'हाम्रो ध्यान यी गुम्बालाई व्यवस्थित गर्ने र भिक्षुहरूको पठनपाठनमा केन्द्रित छ,' उनले भने, 'पछिल्लो समय एक सय २५ मन्दिर र गुम्बाको जीर्णोद्धार पनि गर्यौंह।'

ल्हासा र यसको छेउछाउमा चीन सरकारले अर्बौं रुपैयाँ खर्च गरिरहेको छ। तिब्बत बुद्धिष्ट एकेडेमी र तिब्बत विश्वविद्यालय यसको प्रमाण हो।

तिब्बती जनताको समग्र जीवनस्तर सुधार्न केन्द्र सरकारले २० करोड युआन दिएको सिक्यु बताउँछन्। यो रकम पाच वर्षका लागि हो। 'यो रकम तिब्बतको विद्युतीकरण, यातायात, सञ्चारलगायतमा खर्च गरेका छौं। यी सबै सुविधा तिब्बतका शतप्रतिशत नागरिकले पाउन थालेका छन्,' उनले भने।

तिब्बतको गत वर्षको कूल गार्हस्थ उत्पादन ६९.५५ अर्ब युआन भएको उनले जनाए। वार्षिक १८ प्रतिशतका दरले तिब्बतको आम्दानी बढिरहेको छ।

कमिटीका अर्का सदस्य झु फ्याङसिले माउन्ट एभरेस्ट र ब्रह्मपुत्र रहेसम्म नेपाल र चीन, भारत र चीनको सम्बन्ध प्रगाढ रहिरहने बताए। 'साथीहरू छनोट गर्न सकिन्छ, तर छिमेकी छनौट गर्न सकिन्न,' उनले भने, 'त्यसैले हामी छिमेकीसग प्रगाढ सम्बन्ध राख्न चाहन्छौं।'

तिब्बतको जनसंख्या ५० लाख रहेको अनुमान छ। बौद्धमार्गी, क्याथोलिक क्रिश्चियन र मुस्लिम धर्मालम्बी यहाँ बसोबास गर्छन्। क्रिश्चियन ७ सय, ४ हजार मुस्लिम छन् भने बाकी बौद्धमार्गी छन्।

सन् १९५१ मा बौद्ध धर्मगुरु दलाइ लामा र चीनको केन्द्र सरकारबीच तिब्बती जनताको शान्तिपूर्ण मुक्तिका लागि भएको सम्झौतापछि यहाँ विकासले तिव्रता पाएको हो। यो सम्झौतापछि तिब्बतीले व्यक्तिगत सम्पत्ति राख्ने अधिकार पाए।

चीन सरकारले अहिले तिब्बतलाई औद्योगिकीकरणतर्फ लगिरहेको देखिन्छ। यहाका केही उद्योगमा केन्द्र सरकारको शतप्रतिशत र केहीमा आंशिक लगानी छ। प्राज्ञिक क्षेत्रमा पनि केन्द्र सरकारले अर्बौं युआन खर्च गरिरहेको छ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes