चैत्र २३ - राष्ट्रिय अभिलेखालयबाट चोरिएको पुरातात्त्विक सामग्री न्युयोर्कको बिक्री कक्ष 'क्रिष्टी'मा पुगेको जानकारी पाएर प्रहरीको अन्तर्राष्ट्रिय अपराध नियन्त्रणसम्बन्धी निकाय इन्टरपोलले नेपाल फिर्ता गराउन पत्राचार गरेको छ ।
संस्कृतमा लेखिएका हस्तलिखित ग्रन्थहरू शिवधर्म संग्रह, भागवत पुराण र विष्णु धर्मका चार कृतिका काठले बनेका चित्रयुक्त गाताहरू अभिलेखालयबाट चोरिएर न्युयोर्क पुगेको समाचार आएपछि इन्टरपोलमार्फत ती सामग्री फिर्ता गराउन पहल थालिएको हो । यसबारे प्रामाणिक कागजात जुटाउन इन्टरपोलका एक अधिकृतले मंगलबार पुरातत्त्व विभाग र अभिलेखालयका अधिकारीहरूसँग परामर्श गरेका थिए ।
राष्ट्रिय अभिलेखालयमा संग्रहित बाह्रौं शताब्दीको पुरातात्त्विक सामग्री यो साता न्युयोर्कको बिक्री कक्ष 'क्रिष्टी'मा मोल बढाबढमा बेचिन लागेपछि मात्रै अभिलेखालयले आफ्नो संग्रहबाट चोरिएको थाहा पाएको थियो । अभिलेखालयका ग्रन्थहरूको माइक्रोफिल्मिङ गर्न ७० को दशकमा काठमाडौंमा रहेका जर्मन प्राध्यापक हारुनागा इसाक्सनले 'क्रिष्टी'को बिक्री सूचीमा नेपालका पुरातात्त्विक सामग्रीसमेत रहेको थाहा पाएपछि नेपालविद् अरू विज्ञ र जानकारलाई पत्राचार थालेका थिए ।