.jpg)
'मुलुकमा यत्रो घटना भइरहेको छ, अलिकति पनि संवेदनशीलता भएको मानिसले त त्यत्तिकै पनि छाडिदिनुपर्ने हो,' उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका कोइरालाले कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा भने ।
कोइरालाले 'एउटा नियुक्तिको विषयलाई लिएर यत्रो आक्रोश आयो भने फिर्ता लिनु राम्रो हुने' बताए । सहजै छाडेर मुलुकको पक्षमा कार्कीले वातावरण बनाउन उचित हुने र त्यस्तो हुन नसके राष्ट्रपतिले जनभावनाको कदर गर्दै निर्णय लिन उचित हुने कोइरालाको भनाइ छ ।
कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गर्ने निर्णयको विरोध भएपछि चार दलको यसअघिको बैठकमा आफूले निर्णय सच्याउन प्रस्ताव गरेको उल्लेख गर्दै उनले भने, 'मैले चार पार्टीको बैठकमा पनि भनेको छु, एउटा परिबन्दले त्यो निर्णय भयो, म त्यसबाट अलग हुने भन्ने प्रश्न होइन । मैले भनेको थिएँ, जनताबाट यति ठूलो विरोध भएको छ भने यसलाई फिर्ता गरौं ।'
कोइरालाले 'जनताको भावनाविपरीत जान नहुने' उल्लेख गर्दै भने, 'मुलुक आज यति कमजोर अवस्थामा छ । सबैले भने, अदालत पुगेको छ उसैले टुंगो लगाउँछ । अदालतले टुंगो लगाउनुपर्ने हो उसले पनि लगाउन सकेन । संवैधानिक परिषद्ले पनि टुंग्याउनुपर्थ्यो । अख्तियारले जनआन्दोलनका दोषीलाई संवैधानिक नियुक्ति गर्नु हुन्न भनेको थियो ।'
सभापति कोइरालाले सदाझैं आफ्नो पार्टी जनभावनाविपरीत जान नसक्ने उल्लेख गर्दै भने, 'हाम्रो पार्टी कार्यकर्तामा आधारित पार्टी होइन । मास बेस पार्टी हो । हामी जनताको चाहनाको कदर गरेर जान्छौं । जनताले उठाएको प्रश्नको कदर हुनुपर्छ । जब यति विरोध भएपछि कार्कीजीले नै म छाड्छु भन्नुपर्ने अवस्था म देख्छु ।'