BREAKING NEWS

डिभिजन तीन च्याम्पियन क्रिकेट खेलाडी सम्मानित

काठमाडौं - मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बर्मुडामा भर्खरै सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन तीनको च्याम्पियन भई दुईमा बढुवा हुन सफल नेपाली सिनियर राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा पदाधिकारीहरुलाई आज सम्मान गरे । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा नेपाल सरकारद्वारा आयोजित सम्मान कार्यक्रममा अध्यक्ष रेग्मीले खेलाडीहरूलाई माला तथा अबिर लगाई बधाई दिएका थिए ।
त्यस अवसरमा उनले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी तथा पदाधिकारीलाई जनही रु तीन लाख ५० हजार प्रदान गर्ने बताए ।
अध्यक्ष रेग्मीले खेलाडीहरूको कडा परिश्रमले गर्दा अन्तर्राष्ट्रियस्तरमा देशको गौरव बढाउन सफल भएको भन्दै आगामी अप्रिल–मे महिनामा न्युजिल्यान्डमा सञ्चालन हुने १० राष्ट्र सम्मिलित विश्वकप छनोटमा सफलता हात पार्न आजैदेखि कडा परिश्रम गर्नुपर्ने बताए ।
अध्यक्ष रेग्मीले भने, 'खेलाडीको क्षमता अभिवृद्धि गर्न राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट सङ्घ र नेपाल सरकार स्रोत, साधन र भौतिक पूर्वाधार बनाउने कार्यतर्फ पनि अग्रसर हुन जरुरी रहेको छ।'
अर्को एक प्रसङ्गमा अध्यक्ष रेग्मीले देशको राजनीतिले स्थायित्व पाएको खण्डमा खेलकुदलगायत अन्य क्षेत्रको पनि विकास हुने विश्वास व्यक्त गरे ।
उनले आगामी संविधानसभाको निर्वाचन सफल पार्न खेलाडी, खेलकर्मी र आम नेपालीले सकारात्मक दृष्टिकोण राख्नुपर्ने बताए ।
त्यस अवसरमा पर्यटन तथा नागरिक उड्डयन एवम् युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठ, मुख्य सचिव लिलामणि पौडेललगायतको उपस्थिति रहेको थियो।
यसैबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थि्रका विजेता टोलीलाई आजै सम्मान गरेको छ।




राखेपद्वारा आज आयोजित एक कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन एवम् युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले टोलीका सदस्यहरुलाई फुलमाला र प्रशंसापत्रले दिँदै नेपाल सरकार खेलकुद क्षेत्रको विकास र विस्तारका लागि सदैव कटिबद्ध रहेको बताए ।
उनले भौतिक पूर्वाधारबिना क्रिकेट खेलको विकास नहुने भन्दै काठमाडौँको मूलपानीमा करिब २० हजार दर्शक क्षमता भएको क्रिकेट मैदान निर्माणका लागि राज्यसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा राखेपका सदस्य सचिव युवराज लामाले जितले नेपालको शिर उच्च भएको भन्दै नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको अभाव रहेको हुँदा मूलपानीमा खेल मैदान निर्माण गर्न सरकारले विशेष चासो देखाउनुपर्नेमा जोड दिए।
नेपाल क्रिकेट सङ्घका अध्यक्ष आङबुहाङ लिम्बुले नेपालको वर्ल्डकप खेल्ने सपना करिब नजिक नजिक पुगेको हुँदा यसका लागि आवश्यक सहयोग गर्न राज्यसँग आग्रह गरे।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक विष्टले यस जितले नेपाली खेलप्रमीहरूको खुसीको सीमा नाघेको बताउँदै आगामी दिनमा राज्यले क्रिकेट खेलको विकास र विस्तारको लागि विशेष चासो दिनुपर्ने बताए ।
राष्ट्रिय क्रिकेटका टिम क्याप्टेन पारस खड्काले यस किसिमको सम्मानले खेलाडीहरूमा अझ आत्मबल बढेको बताए।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes