BREAKING NEWS

जिल्ला अस्पताल डाक्टरविहीन

बर्दिया, चैत १९- गर्मीयामसँगै बिरामीको चाप बढ्दै गए पनि बर्दिया भएको छ। जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा ६ डाक्टरको दरबन्दी भए पनि पदपूर्ति नगरिएकाले समस्या आएको हो। जिल्ला अस्पतालका करार डाक्टरको अवधि सकिएको र दरबन्दीका डाक्टर पनि नभएका जिल्ला जनस्वास्थ्य प्रमुख अच्युत लामिछानेले बताए।


‘जिल्ला अस्पतालमा तीन स्थायी डाक्टरको दरबन्दी भए पनि एक वर्षदेखि दुईजना करार डाक्टरले जिल्ला अस्पताल धानेका थिए,' उनले नागरिकसँग भने, ‘करार डाक्टरको पनि म्याद सकिएपछि अस्पताल डाक्टरविहीन भएको छ।'
गर्मीयाममा बिरामीको चाप बढ्ने भएकाले तत्काल डाक्टर पठाउन मन्त्रालयमा कार्यालयले पत्राचार गरेको छ। प्राथमिक स्वास्थ्य केन्द्र सोरहवाका करार डाक्टरलाई जिल्ला अस्पतालमा ल्याइने भएको छ। जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा सेवाग्राही मारमा परेका छन् ।
सरकारले अस्पतालको भौतिक पूर्वाधार विस्तार गरे पनि डाक्टर नबस्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ। ‘जिल्ला अस्पताल र केन्द्रका डाक्टरलाई सबै सुविधा छ, तर, उनीहरू बस्दैनन्,' एक स्वास्थ्यकर्मीले भने, 'यहाँका बिरामी उपचार गराउन भारत पुग्नुपर्छ।' उपचारका लागि गाउँबाट आएका बिरामी फर्कने गरेका उनको भनाइ छ। डाक्टर नभएकाले त्यहाँ अहिले तीनजना मात्र बिरामी छन् ।
अस्पतालमा डाक्टर नभएको मौका छोपेर बिरामीलाई भारत लैजाने गिरोह सक्रिय भएको स्रोतले बताएको छ। ‘चिकित्सक नभएको भन्दै तल्ला तहका स्वास्थ्यकर्मीले भारतमा उपचार गर्न बिरामीलाई सल्लाह दिन्छन,' स्रोतले भन्यो, ‘बिरामी पठाएबापत स्वास्थ्यकर्मीलाई भारतीय डाक्टरले कमिसन दिने गरेका छन्।'
डाक्टर नभएकाले सामान्य रुघाखोकी लाग्दासमेत नेपालगन्ज, कोहलपुर तथा भारतको बहराइच, लखनउ जानुपर्ने अवस्था रहेको एक स्थानीयले बताए। राजनीतिक दबाबमा डाक्टर सरुवा गर्ने प्रवृत्तिले अस्पताल डाक्टरविहीन हुने अवस्था आएको उनको भनाइ छ। उपचारका लागि भारत जानुपर्दा आर्थिक भार बढ्ने स्थानीय व्यवसायी समिम अन्सारीले बताए। डाक्टर नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र अहेवको भरमा सञ्चालन हुँदै आएका छन्। राजापुर, सोरहवा र मगराडी प्राथमिक स्वास्थ्य केन्द्रमा तीन वर्षदेखि डाक्टर छैनन्।
जिल्लामा १७ स्वास्थ्य चौकी, ११ उपस्वास्थ्य चौकी र ३ प्राथमिक स्वास्थ्य केन्द्र छन्। पटक-पटक डाक्टर पठाइदिन आग्रह गरे पनि सरकारले नपठाएको जिल्ला जनस्वास्थ्य प्रमुख लामिछानेले बताए।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes