BREAKING NEWS

एक युवतीलाई अपहरण

रौतहट, चैत १६- युवतीको अपहरण अभियोग लागेका प्रहरी जवान झबुलाल यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटले निलम्बन गरी छानबिन टोली गठन गरेको छ। बिहीबार खेतमा काम गरिरहेकी राजपुर तुलसी-९ मलहिनियाकी एक युवतीलाई अपहरण गरी गौरतर्फ लैजाँदै गर्दा स्थानीयले हजमिनिया चोकमा पक्राउ गरी प्रहरीलाई बुझाएको थियो।


जिल्ला प्रहरीले शुक्रवार निलम्बन गरेर हिरासतमा राखी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताए। प्रहरी नायब उपरीक्षक कृष्णप्यारा खरेलको संयोजकत्वमा पीडिततर्फका समेतलाई राखी पाँच सदस्यीय छानबिन टोली गठन गरेर आजैदेखि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीको आचरणविरुद्ध काम गरेको भन्ने गुनासोको निराकरण गर्न तत्काल निलम्बन गरिएको प्रहरी उपरीक्षक परियारले बताए।
पर्सा जिल्लाको उदयपुर घुर्मी-४ का यादव जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत जवान हुन्। प्रहरी जवान यादवले केटीसित बीस दिनदेखि नियमित सम्पर्कमा रहेको र उनकै इच्छाअनुसार घुमाउन लैजाँदै गरेको अवस्थामा स्थानीयले जबरजस्ती गरी अपहरणको आरोप लगाएको प्रतिक्रिया दिएका छन्।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes