BREAKING NEWS

७५५ प्रहरी निरीक्षकको सरुवा

आकर्षक पोस्टिङमा को-को ?
काठमाडौं, चैत १८ - प्रहरी प्रधान कार्यालयले ६ महिनादेखि रोकिएको प्फुकाउँदै साढे सत सय प्रहरी निरीक्षकको सरुवा गरेको छ। यसअगाडिका सरुवा किस्ताबन्दीमा निस्कने गरेकोमा यसपटक सरुवा मापदण्ड बनाएर सात सय ५५ जनाको एकै पटक सरुवा गरेको हो।
प्रहरीको सरुवा र बढुवाको जस प्रहरी नेतृत्व र अपजस गृहमन्त्रालयको नेतृत्वले पाउँदै आएकोमा गृहमन्त्री माधव घिमिरेले जस-अपजस दुवै प्रहरी नेतृत्वलाई सुम्पँदै प्रधान कार्यालयबाट आएको सूची शुक्रबार स्वीकृत गरेका थिए।

उपत्यका र उपत्यकाबाहिरका करिब एक सय पोस्टिङका लागि प्रहरी निरीक्षकबीच सधैं रस्साकस्सी चल्ने गरेको छ। सकेसम्म आकर्षक पोस्टिङ नभए सुगम जिल्ला उनीहरुको प्राथमिकतामा पर्ने गरेको छ। यी सबै विकल्प असफल भएपछि सुरक्षित रहन गण, गुल्म र तालिम केन्द्र माग्छन् प्रहरी निरीक्षकहरु।
अञ्चल प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कार्यरत अधिकांश प्रहरी निरीक्षकको सरुवा इलाका र वडामा भएको छ। इलाका र वडाका प्रहरी निरीक्षक अञ्चल, जिल्ला, गण र तालिम केन्द्रहरुमा आएका छन्।
'गृह नेतृत्वको हस्तक्षेपविना' सार्वजनिक भएको सूची पछिल्ला सरुवाको तुलनामा सन्तुलित भए पनि त्रुटिरहित छैन। कार्यालय प्रमुखलाई सहयोगीमा, सुगम-दुर्गम, हिमाल, पहाड, तराई र तीन पटक कार्यालय प्रमुख भइसकेकालाई प्रमुखमा सरुवा नगर्ने मापदण्ड लागु गरिए पनि केहीका हकमा नेतृत्व उदार देखियो।
'मालदार' र आकर्षक स्थानमा १६ महिना बिताएका केही भाग्यमानी प्रहरी निरीक्षकले पुनः उस्तै स्थानमा सरुवा पाउन सफल भए। सुगमबाट सुगममै र काठमाडौं उपत्यका नाघेर बाहिर जानु नपर्ने केही भाग्यमानी प्रहरीले यो सरुवामा पनि निरन्तरता पाए।
प्रहरी प्रवक्ता केशव अधिकारीले निश्चित मापदण्डअनुसार सरुवा निकालिएकाले सन्तुलित रहेको बताए। मापदण्ड अभावमा एकै व्यक्ति तारन्तार प्रमुखमै सरुवा हुने पद्दति हटेको उल्लेख गर्दै उनले भने, 'एकै व्यक्ति ६ पटकसम्म प्रमुखमै सरुवा हुन अब सम्भव छैन।' केहीको पोस्टिङमा देखिएको उदारताको जिज्ञासामा उनले 'केही पोस्टिङ संगठनको हितका लागि भएकाले त्यस्तोलाई इस्यु बनाउनु आवश्यक नरहेको टिप्पणी गरे।
सोह्रखुट्टेमा कटुवाल, दरबारमार्गमा ढुंगेल
पोस्टिङ पार्न सबैभन्दा बढी प्रतिस्पर्धा हुने सोह्रखुट्टे प्रभागमा कवित कटुवाल प्रमुख बने। ठमेललगायत रात्रिकालीन व्यवसायबाट हुने अतिरिक्त आम्दानीका कारण सोह्रखुट्टे पोेस्टिङ सबैभन्दा आकर्षक मानिन्छ। यो प्रभागको प्रमुख बनेका विरलै मात्र आर्थिक विवादबाट जोगिएका छन्।
राष्ट्रसंघीय मिसनबाट फर्किएर युएन शाखामा कार्यरत रहेका उनको सरुवा संगठनका सदस्यमाझ आलोचनारहित भने भएन। उनी यसअघि काठमाडौंको अर्को आकर्षक प्रभाग जनसेवाको प्रमुख भइसकेका हुन्। जनसेवामा उल्लेखनीय काम नदेखिए पनि उनी आर्थिक विवादवाट भने जोगिएका थिए।
चार वटा क्यासिनोका कारण दोस्रो आकर्षक पोस्टिङ मानिने दरबारमार्ग प्रभागमा केन्द्रीय अनुसन्धान ब्युरोका कुमोद ढुंगेल आएका छन्। लामो समय महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली सम्हालेका उनी डेढ वर्षदेखि ब्युरोमा थिए। उनले यसअगाडि कार्यालय प्रमुखको अनुभव सँगाल्न पाएका थिएनन्। स्रोतका अनुसार दरबारमार्ग प्रभागको कार्यक्षेत्रमा पर्ने चार वटै क्यासिनोमा नेपाली खेलाडीको प्रवेश पूर्ण निषेध गराउने सर्तमा उनलाई प्रभागमा ल्याइएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीका प्रमुख मञ्जिल मुकारुङ स्वयम्भु प्रभाग प्रमुखमा सरुवा भएका छन्। उपत्यकाका प्रभागमध्ये गौशाला जयश्वर रिमाल, कमलपोखरी दिपक भण्डारी, सिंहदरबार निशान थापा, जनसेवा मिमबहादुर लामा, थानकोट तेजेन्द्र पौडेल, बुढानिलकण्ठ तर्कराज पाण्डेय र साँखु गोविन्दप्रसाद अधिकारीको सरुवा भएको छ।
मानवस्रोत विभागका गोविन्द थापा कीर्तिपुर प्रभाग, ज्योतिराज शर्मा ललितपुरको बाँडेगाउँ प्रभागबाट आयुक्त कार्यालय, लालध्वज सुवेदी अपराध महाशाखाबाट बालाजु अपराध शाखा, इप्रका एसेलुखर्कका हरि ढकाललाई महानगरीय प्रहरी प्रभाग बाँडेगाउँको प्रमुख बनाइएको छ।
दधिराम न्यौपाने, दिप्ती कार्की, प्रह्लाद कार्की, वीरेन्द्रबहादुर शाही केन्द्रीय अनुसन्धान ब्युरो पुगेका छन्। कलंकी ट्राफिक प्रभागका प्रजित केसी र प्रहरी प्रशिक्षण प्रतिष्ठानका रुगम कुँवर अपराध महाशाखामा आएका छन्। गज्जुसिद्धि बज्राचार्य, पञ्चकुमार बाखु र शिशु शर्मासमेत महाशाखामा आएका छन्।
आकर्षक पोस्टिङमा को-को
आर्थिक रुपमा सधैं विवादमा तानिने उपत्यकाका प्रभाग प्रमुखको चयनमा प्रधान कार्यालय बढी सजग देखिए पनि उपत्यकाबाहिरको पोस्टिङ उपत्यकासमान देखिएन।
आकर्षक पोस्टिङ मानिने इप्रकामध्ये काभ्रेको बनेपामा अच्युत चापागाई, मोरङको रानीमा अनिलकुमार पौडेल, दोधाराचाँदनी कञ्चनपुरमा कविन्द्रसिंह बोहोरा, बेलबारी दिलिपकुमार गिरीको सरुवा भएको छ। सुपारी तस्करीको मुख्य नाका इप्रका काकडभिट्टामा कृष्ण खड्का पुगेका छन्। कालीमाटीवृत्तका तुलसीबहादुर भट्टराई इप्रका गजुरी पुगेका छन्। चार वर्षभन्दा बढी कालीमाटी वृत्तमा कार्यरत उनको सरुवा समानुपातिक देखिएन।
सप्तरीको इलाका प्रहरी कार्यालय भेडियाको प्रमुख रहेका आनन्दमणि लामिछाने सरुवामा आकर्षक पोस्टिङ पाउन सफल भए। उनी उपत्यका भित्रने नाका धादिङको इप्रका खानीखोलाको प्रमुख भएका छन्। खानीखोलामा कार्यरत कौशलकुमार बुढाथोकी सुगम मानिने महानगरीय प्रहरी आयुक्त कार्यालयको इन्टेलिजेन्स महाशाखामा सरुवा भएका छन्।
सिन्धुपाल्चोकको आकर्षक पोस्टिङ बाह्रबिसेमा विष्णुप्रसाद लामिछाने पुगेका छन्। महानगरीय प्रहरी अपराध महाशाशाखाका भीष्म हुमागाई इप्रका बर्दिवास पुगेका छन्। सीमा प्रहरी चौकी कोदारीमा मनोजकुमार लामा, राजु थापा इप्रका राजापुर, रामबहादुर केसी वडा प्रहरी कार्यालय नेपालगन्जमा सरुवा भएको छ।
कमल रमण भट्टराई वडा प्रहरी कार्यालय विराटनगर, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा विराटनगरमा खेम केसी, जिप्रका सप्तरीका नन्दलालप्रसाद शाह इप्रका चन्द्रनिगाहपुर, इप्रका गैडाकोटमा नारायणप्रसाद अधिकारी, भेषराज रिजाल इप्रका गरुडाबजार, लोकबहादुर गुरुङ इप्रका मुग्लिन, कोल्वीमा मुकुन्दराज खरेल, कास्कीका रविन्द्रनाथ पौडेल वडा प्रहरी कार्यालय विर्तामा सरुवा भएका छन्।
लामो समय उपत्यकाको विभिन्न ट्राफिक कार्यालय चहारिइरहेका सीताराम आछेथु दरबारमार्ग ट्राफिक प्रभागबाट प्रधान कार्यालयको सुरक्षा महाशाखामा सरुवा भएका छन्। दरबारमार्ग वृत्तको भवन बनाइसकेपछि मात्र सरुवा हुने उनको प्रयास यो पटक सफल भएन।
राष्ट्रसंघीय मिसनबाट आएका सुदिप पाठक इलाका प्रहरी कार्यालय मेलम्चीमा सरुवा भए। उनी काजमा गुल्मीमा थिए। काजमा रहेका अधिकांशको दरबन्दी कायम भए पनि उनको संशोधन गरियो। लामो समय महानगरीय प्रहरी अपराध महाशाखामा काम गरेका गणेश चन्द वडा प्रहरी कार्यालय श्रीपुर, पर्सामा सरुवा भए।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes