BREAKING NEWS

छविराजको लोफर फ्लोरमा

चलचित्र निर्माता संघको सचिव पदमा निर्वाचित भएका निर्माता छविराज ओझाले सिनेमा ‘लोफर’ को सुटिङ आजदेखी गोदावरीबाट प्रारम्भ गरेका छन् । डार्क कमेडी शैलीको सिनेमा ‘लोफर’ असोज २५ गते फुलपातीका दिन देशभरबाट प्रदर्शन हुनेछ । ‘पशुपतीनाथको पूजाआजा र कालिकास्थानलाई एक सय एघार वटा लड्डु चढाएर हामी एक महिनाको सुटिङ तालिका सहित फ्लोरमा निस्किएका छौ’ उनले गोदावरी सुटिङ स्पटबाट भने, ‘यो सिनेमाले पनि लगानी सुरक्षित गर्छ भन्नेमा म ढुक्क छु ।’ ‘लोफर’ लाई डेव्यू निर्देशक आदित्य विक्रम लम्सालले निर्देशन गर्दैछन् । अहिले गोदावरीको आउट डोर सुटिङमा दयाह्याङ राई, शुशिलराज पाण्डे, कमलमणी नेपाल, अनुपम शर्मा, सागर लम्साल र नयाँ अनुहार रजनी के.सीले टेक लिइरहेका छन् । नायक आर्यन सिग्देलले भने भोलीबाट मात्रै फ्लोर ज्वइन गर्ने बताइएको छ । मदन कास्यप घिमिरेको सिनेम्याटोग्राफी रहेको ‘लोफर’ को केही हप्ता गोदावरी र काठमाडौ आसपासका क्षेत्रहरुमा सुटिङ प्याकअप भएपछि विरगञ्ज र रक्सौलतर्फ लागीने निर्माता ओझाले बताए ।६० लाख बजेट अनुमान गरिएको ‘लोफर’ मा चन्द्र पन्तको फाईट डिरेक्सन एवम् सोलाल कृष्ण सापकोटाको संगीत रहेको छ । अहिलेसम्मका प्रायः सबै प्रोजेक्ट्सबाट लगानी रिकभरबाट गर्न सफल छविले फरक स्टोरीको सिनेमा ‘लोफर’ बाट पनि सुरक्षित होलान् ? फुलपातीसम्म कुर्नैपर्छ । ‘लोफर’ छविराज प्रोडक्सनबाट निर्माण हुन लागेको पहिलो सिनेमा हो । यसअघि रेखा फिल्मसको नामबाट उनले सिनेमा निर्माण गर्दै आएका थिए । स्मरण रहोस् रेखा फिल्मस्लाई नायिका रेखा थापाले आफ्नो नाममा दर्ता गरेर ‘काली’ नामक सिनेमा निर्माणको प्रक्रियामा जुटेकी छिन् ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes