वैशाख २३ - अफगानिस्तानमा शनिबार भएका छुट्टाछुट्टै आक्रमणमा एकै दिनमा नौ नेटोसँग आबद्ध सैनिकको मृत्यु भएको छ । दक्षिणी अफगानिस्तानमा अफगान सैनिकले प्रहार गरेको गोलीबाट अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलका दुई जना सदस्यको मृत्यु भएको नेटोले जानकारी दिएको छ ।

त्यसैगरी उत्तरी अफगानिस्तानमा आतंककारीको आक्रमणमा परी दुई विदेशी सैनिकको मृत्यु भएको जनाइएको छ । यद्यपि अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलको नीतिअनुसार ती सैनिकको राष्ट्रियता भने प्रस्ट पारिएको छैन । त्यसैगरी अफगानिस्तानको दक्षिणी भागमा अवस्थित कान्दहार प्रान्तको माइवान्ड जिल्लामा सडक किनारामा राखिएको एक बम विस्फोट हुँदा ५ अमेरिकी सैनिकको मृत्यु भएको थियो । यस मुलुकमा तालिबानले एक साताअगाडि ग्रीष्मकालीन आक्रमणको घोषणा गरेका थिए । अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलले जारी गरेको एक विज्ञप्तिमा एक दिनमा नौ नेटोसँग आबद्ध सैनिकको मृत्यु भएको आइतबार जानकारी दिएको छ । यसैबीच कान्दहार प्रान्तका प्रहरी प्रमुख जनरल अब्दुल राजेकले अमेरिकी पाँच सैनिकको उनीहरू चढेको गाडी विस्फोटक पदार्थमा पर्दा मृत्यु भएको बताए । ४ दिन अगाडि छिमेकी हेलमान्ड प्रान्तमा यस्तै आक्रमणमा बेलायतका तीन सैनिकको मृत्यु भएको थियो । अफगानिस्तानमा सन् २००१ देखि अमेरिकी नेतृत्वमा रहेको नेटो सैनिकका विरुद्ध तालिबानी आतंककारीहरूले आक्रमण गर्दै आएका छन् ।
सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भइसक्ने जानकारी नेटो सम्बद्ध राष्ट्रहरुले गत वर्ष नै गरिसकेका छन् । अफगानिस्तानमा तालिवानी आतंककारीहरूले अफगान नेटोसाग आबद्ध सैनिकलाई लक्ष्य गरी सडक किनारको बम र अन्य विस्फोटक पदार्थ विस्फोट गराउँदा बारम्बार नागरिकको हताहती हुने गरेको पाइन्छ । अफगानिस्तानमा सन् २०१४ को अन्त्यसम्ममा नेटो सैनिक फिर्ता भइसक्ने घोषणा यसअघि नै गरिएको भए पनि अफगानिस्तानको शान्ति सुरक्षामा भने उल्लेखनीय परिवर्तन आएको छैन । अफगानिस्तानमा तालिवानी आतंककारीसँग युद्धरत करिब एक लाख नेटो र अमेरिकी सैनिकहरू रहेका छन् । यसवर्षको सुरुदेखि हालसम्म यस्तै विभिन्न आक्रमणमा ५० भन्दा बढी विदेशी सैनिकको मृत्यु भएको समाचारमा जनाइएको छ ।