BREAKING NEWS

घरजग्गा मेला

वैशाख २३ - एनएलएचडीए कान्तिपुर घरजग्गा मेला २०१३ एक लाख २० हजारले अवलोकन गरेका छन् । बिहीबारदेखि सुरु भएको मेला आइतबार सकिएको छ । मेलामा सहभागीको संख्याबाट आफूहरू उत्साहित भएको आयोजकले जनाएका छन् । अवलोकनकर्ता आकर्षण गर्न घरजग्गा व्यवसायीहरूले छुटको योजनासहित बम्पर उपहार पनि राखेका थिए ।

मेला समापन कार्यक्रममा जग्गा तथा आवास विकास संघका उपाध्यक्ष एवं मेला संयोजक ओम राजभण्डारीले ग्राहक र व्यव्ासायीबीचको दूरी मेट्न सफल भएको बताए ।

'व्यवसायी र ग्राहकबीचको विश्वासको कमी थियो,' उनले भने, 'मेलाले धेरै राम्रो वातावरण बनाइदिएको छ ।' घरजग्गा मेलाबाट ग्राहकको विश्वास जित्न धेरै सफल भएको उनको भनाइ थियो । 'मेलामा हाउजिङ र अपार्टमेन्टको बुकिङ उत्साहजनक रूपले बढेको छ,' राजभण्डारीले भने, 'हरेक स्टलमा ग्राहकले छलफल गर्ने, बुझ्ने र खरिद गर्ने क्रम देखियो ।'

संघका अध्यक्ष इच्छाराज तामाङले करिब साढे ३ वर्ष लामो मन्दीपछि घरजग्गा प्रति ग्राहकको चासो बढ्दै गएको बताए । '१ करोड रुपैयाँसम्मको घरजग्गा को आयस्रोत खुलाउन पर्ने व्यवस्था छैन । घर खरिदबिक्रीमा पनि सरकारले राजस्वमा छुट दिएको छ,' उनले भने, 'नीति नियममा सुधार भएकाले व्यवसाय फस्टाउँदै गएको छ ।' घरजग्ग्ाा व्यवसाय धराशायी हुँदा मुलुकको अर्थतन्त्र नै धरापमा परेकाले यो व्यवसाय उत्पादनमूलक उद्योगका रूपमा अगाडि बढेको बताए । उनले घरजग्गा मेलाको चौथो संस्करणमा अन्तर्राष्ट्रिय प्रदर्शनीकर्तालाई समेत ल्याउने बताए । 'यसले अन्तर्राष्ट्रिय प्रदर्शनीकर्तासँग अनुभव साट्न मौका मिल्ने छ,' उनले भने । मेलामा आफूलाई खरिद गर्नेसँगै अन्यलाई सुझाव दिन पनि अवलोकनकर्ता आएको उनले बताए । कान्तिपुर पब्लिकेसनका चिफ कर्पोरेट अफिसर महेश स्वाँरले मेलाको उद्देश्य ग्राहकलाई घरजग्गा सम्बन्धी जानकारी गराउनु रहेकाले त्यो लक्ष्य पूरा

भएको बताए ।

मेलामा घर, अपार्टमेन्ट खरिद गर्नेसँगै निर्माण सामग्री र अन्य सजावटका सामानको मुख्य आकर्षण थियो । हाउजिङसहित बैंक, सवारी साधन, सिमेन्ट, फर्निचर, अनलाइन रियलस्टेट बुकिङ, ट्राभललगायत कम्पनी मेलामा सहभागी थिए । विभिन्न कम्पनीको मूल्य र सुविधा तुलना गर्न र आफैं बनाउँदा आवश्यक सामानको भाउ बुझ्न मेलामा अवलोकनकर्ता आउने क्रम बढेको थियो । यसैगरी मेला अवधिभर घर अपार्टमेन्ट खरिद गर्ने सम्भावित ग्राहक पहिचान गरेर विशेष निमन्त्रणा पनि गरिएको थियो ।

बम्पर उपहारको लक्की ड्र बिहीबार

एनएचएलडीए कान्तिपुर घरजग्गा मेलामा एक जना अवलोकनर्तालाई दिइने मेरो सिटी अपार्टमेन्टको लक्की ड्र बिहीबार हुने भएको छ । मेला आयोजकका अनुसार ५० रुपैयाँको टिकट खरिद गरी मेला अवलोकन गर्नेमध्ये एक जनालाई गोला प्रथाबाट मेरो सिटीको अपार्टमेन्ट उपलब्ध गराइने छ । रोयल अर्किड डेभलपर्सले हात्तीवनमा मेरो सिटी निर्माण गरिरहेको छ । सातदोबाटो चोकबाट १ दशमलव २ किलोमिटरको दूरीमा रहेको मेरो सिटीका अपार्टमेन्ट १ वर्षभित्र ग्राहकलाई हस्तान्तरण भइसक्ने कम्पनीले जनाएको छ ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes